Saturday, April 21, 2012

आजकाल सपनीमा


धुवाँ उडिरहेको देख्छु
दाउरा थपिरहेको देख्छु
धुवाँमा मान्छेहरु निस्सासिएको देख्छु
आगोमा मान्छेहरु जलिरहेको देख्छु
आजकाल सपनीमा देश जलिरहेको देख्छु
आजकाल सपनीमा देश बलिरहेको देख्छु
पुल भत्किएको देख्छु
बाँध फुटेको देख्छु
बाटो छलिएको देख्छु
बाटो बिराएको देख्छु
आजकाल सपनीमा देश भासिएको देख्छु
आजकाल सपनीमा देश मासिएको देख्छु

वाढी आएको देख्छु
पहिरो गएको देख्छु
रुख ढलेको देख्छु
चोईटा छरिएको देख्छु
आजकाल सपनीमा कुलक्षण नै कुलक्षण देख्छु
आजकाल सपनीमा अपसकुन नै अपसकुन देख्छु



गाडी जलेको देख्छु
गोली चलेको देख्छु
बम पड्केको देख्छु
मान्छे मरेको देख्छु
आजकाल सपनीमा सबै छटपटाएको देख्छु
आजकाल सपनीमा सबै निस्सासिएको देख्छु



टुक्रा टुक्रा छरिएको देख्छु
मालाहरु चुडिएको देख्छु
टुक्रामा मान्छेहरुले अस्तित्व खोजिरहेको देख्छु
मालामा मान्छेहरुले पहिचान खोजिरहेको देख्छु
आजकाल सपनीमा नक्सा च्यातिरहेको देख्छु
आजकाल सपनीमा भूगोल बाडिँरहेको देख्छु


पानी झै संग्लो देख्छु
ऐना झै प्रष्ट देख्छु
विपना झै यथार्थ देख्छु
दिन झै छर्लग देख्छु
आजकाल सपनीमा
सबै कुरा आफ्नै गाउ घरमा भएको देख्छु
आफ्नै आँखा अगाडि भएको देख्छु
आफ्नै वरीपरी भएको देख्छु
आफ्नै देशमा भएको देख्छु
आफ्नै देशमा भएको देख्छु

No comments:

Post a Comment